काभ्रेपलाञ्चोक । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।
कार्यालयको प्रारम्भिक विवरणअनुसार विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको हो । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा क्षति पुर्याइएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ । प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । त्यसैगरी, नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरी आगजनी हुँदा क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । ती कार्यालयमासमेत आगजनी गरेका छन् ।
प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी र एक हेलिकप्टरमासमेत आगजनी गरेका थिए ।
धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो ।
दुई सय ८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।