काठमाडौं, भदौ २३ — यस वर्षको दशैंका लागि अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन। दशैं सुरु हुन १५ दिन मात्र बाँकी रहँदा समेत टिकट व्यवस्थापनबारे अन्योल कायमै छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार देशका विभिन्न ग्रामीण क्षेत्रमा बाढीपहिरोले सडक र पुलहरूमा क्षति पुर्याएको र मनसुन अझै सक्रिय रहेकोले टिकट बुकिङ तत्काल सम्भव नभएको हो।
यातायात व्यवस्था विभागले अहिलेसम्म सरोकारवाला निकायहरूसँग औपचारिक छलफल समेत थालेको छैन। महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले सडक सुरक्षाको ग्यारेन्टी नदिएसम्म अग्रिम टिकट बिक्री खोल्न नसकिने बताएका छन्।
दशैंमा करिब १८–२० लाख यात्रु गन्तव्यमा पुग्नुपर्ने चुनौती रहेको भन्दै व्यवसायीहरूले सरकारको निष्क्रियता प्रति आक्रोश व्यक्त गरेका छन्।
सिटौलाका अनुसार यसपालिको बुकिङ व्यवस्थापनका लागि कुनै कार्यविधि नबनाइएको र यात्रुलाई स्पष्ट जानकारी दिन नसकिएको हो। यद्यपि, दशैं लक्षित गरेर नयाँ उच्च गुणस्तरका बसहरू थपिने तयारीमा छन्। तर, ती सञ्चालनका लागि पनि सडक मर्मत र सुरक्षामा सरकारको ध्यान आवश्यक रहेको व्यवसायीहरूको जोड छ।