काठमाडौं ।  चाडपर्वको रौनक सँगै देशभरको सडकमा सवारी चाप उच्च हुने गरेको छ। लाखौं यात्रुहरू काठमाडौंबाट घर फर्किन थालेका छन्, तर सडकको अवस्था भने यात्रा गर्न लायक छैन। पूर्व–पश्चिम सबैजसो राजमार्ग र सहायक सडकमा निर्माण, बाढीपहिरो र वर्षाको असरका कारण सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ।

बीपी राजमार्गमा अघिल्लो वर्षको बाढीले बगाएको १२ किलोमिटर सडक अझै निर्माण भएको छैन। अहिले अस्थायी मार्ग प्रयोगमा ल्याइए पनि त्यो सुरक्षित मानिने अवस्था छैन। उता नागढुंगा–नारायणगढ सडक खण्डमा स्तरोन्नतिको काम जारी रहेकाले सवारी सञ्चालनमा अवरोध भइरहेको छ।

देशका अरू प्रमुख सडकजस्तै नारायणगढ–बुटवल खण्ड सात वर्षदेखि विस्तारको प्रक्रियामा छ तर अझै पूरा भइसकेको छैन। गत साता मात्रै रामेछापको मन्थली–खिम्ती सडक २० मिटर भासिँदा सडक अवरुद्ध भयो।

नेपालका अधिकांश सडकहरू पहाड काटेर खोल्साको किनारमा बनाइएका छन्। जसका कारण बर्खायाममा पहिरो, कटान, र ढुंगामाटो खस्ने समस्या बारम्बार देखिन्छ। निर्माणको गुणस्तर कमजोर, घुम्ती धेरै र सडकको चौडाइ न्यून भएकाले सुरक्षाको चुनौती झनै बढेको छ।

चाडपर्व नजिकिँदै गर्दा यातायातको चाप उच्च हुने र यात्रु संख्या पनि दोब्बर हुने भएकाले जोखिम झनै तीव्र हुन्छ। धेरैजसो यात्रु चाडको हतारोमा ट्राफिक नियम बेवास्ता गर्छन् भने निजी सवारी तीव्र गतिमा कुदाउने प्रवृत्ति पनि देखिन्छ। यसले दुर्घटनाको सम्भावना उच्च बनाएको छ।

सडकहरूलाई सुरक्षित बनाउन सधैं काम भइरहनुपर्ने हो। तर चाडपर्वजस्ता भीडभाडका समयमा विशेष सतर्कता आवश्यक हुन्छ। खाल्डाखुल्डी तुरुन्त पुर्नु, आवश्यक स्थानमा कालोपत्र गर्नु, सूचनाको पहुँच सजिलो बनाउनु र ट्राफिक व्यवस्थापन चुस्त गर्नु अब विलम्ब गर्न नहुने विषय बनेका छन्।

यात्रुले पनि सावधानी अपनाउनु अनिवार्य छ। किनभने अरूका लागि दुर्घटना एउटा समाचारमात्र हो, तर पीडितका लागि सम्पूर्ण जीवनको दुःख बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *