ललितपुर । राष्ट्रिय व्यावसायिक तथा प्राविधिक तालिम प्रतिष्ठान (तालीम व्यवस्थापन शाखा), ललितपुरले विभिन्न सीप विकास तालिमहरूका लागि आवेदन खुला गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा निःशुल्क सञ्चालन हुने यी तालिमहरूका लागि इच्छुक नेपाली नागरिकहरूले २०८२ सालको आश्विन १० गतेभित्र आवेदन दिन सक्ने छन्।
प्रतिष्ठानले अटोमेकानिक्स, विद्युतीय जडान, प्लम्बिङ, कम्प्युटर (बेसिक) र कटिङ सिलाई गरी पाँच वटा विषयमा ३९० घण्टाका तालिम सञ्चालन गर्न लागेको हो। प्रत्येक तालिममा २० जना सहभागी समावेश हुनेछन्। अटोमेकानिक्स तालिमको लागि अन्तर्वार्ता समेत लिने जनाइएको छ भने अन्य तालिममा अन्तर्वार्ताको आवश्यक छैन।
इच्छुक व्यक्तिहरूले प्रतिष्ठानको वेबसाइट www.tdsta.gov.np बाट आवेदन फारम डाउनलोड गरी तोकिएको मितिभित्र बुझाउनु पर्नेछ। आवेदन प्रतिष्ठानको कार्यालय, सानेपामा पनि बुझाउन सकिनेछ।
तालिममा सहभागी हुन चाहने व्यक्तिहरूले कम्तीमा कक्षा ८ पास गरेको शैक्षिक योग्यता प्रमाणपत्र, नेपाली नागरिकता प्रमाणपत्रसहित आवेदन दिनुपर्नेछ। आवेदकको उमेर १८ वर्षदेखि ४५ वर्षसम्म हुनुपर्नेछ।
एक व्यक्तिले एकपटकमा एकवटा तालिमको लागि मात्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ। थप जानकारीका लागि फोन नम्बर ०१–५४५०००० वा ०१–५४५०००१ मा सम्पर्क गर्न सकिने प्रतिष्ठानले जनाएको छ।