काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।
काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो ।
सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न सुनकोशी नदीमा पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् ।
विभागअन्तर्गतको पुल सेक्टर कार्यालयका इञ्जिनीयर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बहाना गरेपछि कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन् ।
सम्झौताको समयसिमाभित्र काम नगरेपछि पछिल्लो पटक विसं २०८१ वैशाख २० गते विभागीय निर्णय अनुसार एकैपटक २३ महिना २५ दिनका लमगि म्याद थप गरिए पनि निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणार्थ थपिएको म्याद पनि गत जेठ ९ गते सकिएको छ ।
उक्त पुल निर्माण गर्न भ्याटसहित रु. ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलको तीन वटा पिल्लर उठाउनुका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान मात्रै तयार भएको इञ्जिनीयर महर्जनले बताए ।