अर्घाखाँची । अर्घाखाँचीमा डिभिजन वन कार्यालयले बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ । बन्यजन्तुबाट बालीनाली जोगाउन २० जना कर्मचारी नियुक्ति गरिएको हो ।
जिल्लाभित्र बाँदर प्रभावित क्षेत्रलाई लक्षित गरी पहिलो पटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
डिभिजन वन कार्यालयले २० जना हेरालुलाई विशेष अभिमुखिकरण समेत गरेको प्रमुख मोहन श्रेष्ठले बताए । डिभिजन वन कार्यालयले कार्तिक ५ गते सम्मका लागि मकैबाली लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी नियुक्ति भएका व्यक्तिलाई प्रभावित क्षेत्रमा खटाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए।
बाँदर र बँदेलबाट बढी प्रभावित क्षेत्र सन्धिखर्क नगरपालिकाको किमडाडा,पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली,अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा, अर्घातोष र मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा हेरालु खटाइएका हुन्।
६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई/दुई जनाको दरले हेरालु राखिएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए। हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्च पाउने छन्। शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *