पाँचखाल नगरपालिका । पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्ने भएको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्ने तयारी गरेको हो ।
पाँचखालको नगरसभाबाट स्वीकृत भएको आर्थिक ऐन २०८१ को अधिनमा रही व्यवसाय कर चुक्ता गर्नुपर्ने तथा बक्यौता व्यवसाय कर चुक्ता गर्न नगरले पत्राचार गर्दासमेत बेवास्ता गरेकाले २०८१ चैत २६ गते नगर कार्यपालिकाको बैठकको निर्णयानुसार कर चुक्ता नगरेसम्म इँटा बिक्री बन्द गरिएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरको पत्राचारलाई बेवास्ता गरी व्यवसायीले अटेर गरेपछि सोमबार सुरक्षाकर्मीसहित नगरका प्रतिनिधिको टोलीले इँटाभट्टा सिल गर्ने प्रक्रिया अगाडि बढाएको छ । नगरलाई कर तिर्न बाँकी रहेका पाँच भट्टामध्ये तीनवटा सोमबार सिल गरिएको र अन्य दुई सिल हुने प्रक्रियामा रहेको सापकोटाले बताए ।
पाँचखाल–१२ मा रहेको श्री जय भीमसेन इँटा उद्योग प्रालि र पलाञ्चोक भगवती फिक्स चिम्नी इँटा उद्योग तथा पाँचखाल–७ स्थित सुवर्णेस्वरी इँटा उद्योग प्रालि सिल गरिएको हो । यस्तै पाँचखाल–८ मा रहेको उपकार इँटा उद्योग प्रालि र वडा नं ९ स्थित पलाञ्चोक भगवती ब्रिक इन्डस्ट्रिज प्रालि सिलको प्रक्रियामा रहेको जनाइएको छ । पाँचखालमा आठ इँटा उद्योग सञ्चालनमा छन् ।