ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सब-इन्जिनियरको मृत्यु भएको छ।
महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सब-इन्जिनियर २१ वर्षीय सविन दाहाल छन्।
बुधबार साँझ ठूला दुर्लुङस्थित भर्याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता भएका थिए।
खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको हो।
‘खोल्सामा साँझ साढे ७ बजेतिर आएको बाढीले बगाउँदा उहाँ बेपत्ता हुनुभएको थियो। हामीले खोजीको क्रममा राति १० बजेतिर शव फेला परेको हौँ,’ चौलागाईँले भने।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।