सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरी बिक्री गरेर लाखौं रुपियाँको आम्दानी गर्न सफल भएका छन् ।

स्थानीय युवाहरूले उपभोक्ताको स्वास्थ्यको ख्याल गरेर २०७९ सालमा बस्तिपुर म्याङो फार्मिङ एग्रिकल्चर प्रालि सञ्चालन गरेर बिषादीरहित अर्गानिक आँपको खेती गर्न थालेपछि यहाँको आँपको माँग बढेको हो ।

काठमाडौ, झापा, बिराटनगर, गाईघाट, धरानलगायत मुलुकको विभिन्न ठाउँबाट उपभोक्ताहरु आँप किन्न आउनेगरेको प्रालिका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । उनले भने, “काठमाडौंलगायत पूर्वको अधिकांश भाटभटेनीमा हाम्रो आँप जाने गरेको छ ।”

हाम्रो समितिमा भएकाहरूको आफ्नै २० बिघा र अर्काको २० बिघा क्षेत्रफलमा आँपको बगैचा रहेको र लिजमा लिएर ४० विघामा आँप उत्पादन गरेर बिक्री सुरू गरेको उनले जानकारी दिए । उनले भने, “बिषादीरहित अर्गानिक आँप उत्पादन गरेर उपभोक्तालाई आँप दिन पाउँदा र भनेजस्तो आम्दानी हुँदै आएकाले हामी सन्तुष्ट छौं ।”

आँपको सिजनमा बजारमा विषादीयुक्त आँपका कारण सर्वसाधारणको स्वास्थ्यमा नराम्ररी असर परिरहेकाबेला अर्गानिक आँप उत्पादन हुन थालेपछि बगैंचामै आँप किन्न आउनेको भिड लाग्दैआएको उनले बताए।

गत बर्ष ८० लाखको आँप बिक्री भए पनि यस वर्ष करिब १ करोडको आँप बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । दैनिक बगैचाबाट तीन सयदेखि पाँचसय टन आँप बिक्री हुँदैआएको उनले बताए ।

आँपको राजधानीको रूपमा सप्तरी जिल्ला प्रख्यात मानिन्छ । जिल्लामा सबैभन्दा बढी रूपनगरमा आँप उत्पादन हुँदैआएको छ । यहाँ करिब पाँचसय बिघा आँप उत्पादन हुँदैआएको स्थानीयको भनाइ छ ।

बैशाखदेखि आठ जना बगैंचा रूँगने कामदारलाई मासिक आठ हजारदेखि अठार हजारसम्म मासिक तलब दिएर राख्दैआएको उहाँले बताउनुभयो । उनले भने, “बैशाखदेखि साउन दोस्रो हप्तासम्म बगैंचामा काम गर्ने मजदुरलाई एघार लाख ज्याला मात्र दिँदैआएको छु ।”

आँप तौल गर्ने प्याकिङ गर्ने लोड गर्ने ६ जना भारतीय मजदुरले मात्र मासिक १५ देखि २० हजार भारू रूपियाँ तलब लिँदैआएको छ । जेठ अन्तिम हप्तादेखि साउन पहिलो हप्तासम्म दैनिक आँप टिप्ने र बटुल्ने मजदुरमात्र सोह्रदेखि २८ जना मजदुरले दैनिक खाना र खाजासहित जनही ६ सय लिँदैआएका छन् ।“

बगैचामा माल्दह, बम्बै, दशहरी, अम्रपाली, सिपी, कलकतिया, कृष्णभोग लगायतको आँप भए पनि माल्दह आँपको सबैभन्दा बढी माग रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *