मधेस प्रदेशमा उखुको उत्पादन घट्दै

  • प्रकाशित मिति : June 20, 2025
  • sthaniyasarkar.com

जनकपुरधाम। मधेस प्रदेशमा उखुको उत्पादनमा वर्षेणी कमी आएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन (आव २०८१/८२) अनुसार उखु उत्पादनमा कमी आएको हो ।

चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार मधेस प्रदेशमा उखु उत्पादनमा १६.८२ प्रतिशतले कमी आएको हो । यसअघि गत आवको पुस मसान्तसम्ममा १७.५८ प्रतिशतले उखुको उत्पादन घटेको थियो ।



उखुको उत्पादन घटेपछि धानको उत्पादन १०.७० प्रतिशत, मकै उत्पादन ३४.८५ प्रतिशत र गहुँ उत्पादन २.२८ प्रतिशतले वृद्धि भएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार उखु सँगै आलु उत्पादनमा ७.३० प्रतिशत, सुर्ति उत्पादनमा १२.५६ प्रतिशत र दलहन उत्पादनमा ४१.३९ प्रतिशले कमी आएको हो ।

गत आवको पुससम्ममा धानको उत्पादनमा ३.६८ प्रतिशत, दलहनको उत्पादनमा ८.०३ प्रतिशत र तेलहनको उत्पादनमा १५.३६ प्रतिशतले घटेको थियो ।

मधेस प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन सबैभन्दा बढी बारा हुन्छ । बारामा प्रदेशमा उत्पादन हुने खाद्य तथा अन्य बालीको १७.०१ प्रतिशत उत्पादन हुन्छ भने रौतहटमा सबैभन्दा कम ८.२८ प्रतिशत उत्पादन भएको छ ।

प्रतिवेदन अनुसार चालु आव २०८१÷८२ को पुस मसान्तसम्ममा मधेस प्रदेशमा ३४ लाख ८९ हजार ८५० मेट्रिक टन खाद्य तथा अन्य बाली उत्पादन भएको हो । तरकारी तथा बागवानी तर्फ ९ लाख २८ हजार ९८३ मेट्रिक टन उत्पादन भएको हो भने फलफूल तथा मसला तर्फ ३ लाख ३७ हजार ८९ मेट्रिक टन उत्पादन भएको हो ।

सप्तरीमा सबैभन्दा बढी फलफूल तथा मसलाको उत्पादन भएको हो । प्रदेशमा उत्पादन भएको फलफूल तथा मसलाको ६१.३५ प्रतिशत अर्थात २ लाख ६ हजार ७९१ मेट्रिक टन उत्पादन भएको हो ।