पोखरा।गएरातिको अविरल वर्षा र त्यसपछिको पहिरोले कास्कीको उत्तरपूर्वी क्षेत्रमा पर्ने मादी गाउँपालिकाको-१ खिलाङ र ६ मा पर्ने तप्राङमा ठूलो क्षति भएको छ।
खिलाङमा घर माथिबाट आएको पहिरो स्थानीय बुमप्रसाद गुरुङको गोठमा पस्दा लैनो भैँसी र पाडो मरेको छ।
‘राति ११: ३० बजेतिर घरमाथिबाट पहिरो आएछ। गोठ पुरिए पनि मानवीय क्षति भएन। घर चाहिँ जोखिममा छ,’ स्थानीय प्रेम पुनले भने।
उनका अनुसार काहुँखोला सिक्लेस मोटरबाटो बनाउने क्रममा भत्किएको ठाउँबाट पहिरो आएको हो। प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेस जाने सो बाटो पिच हुने क्रममा छ। तर अघिल्लो ठेकेदारले काम छाडेपछि अर्को ठेकेदारलाई काममा लगाउँदा निर्माण ढिला भएको पुनले बताए।
यता, तप्राङमा चाहिँ यसअघि पहिरो नगएको बस्तीमै पहिरो जाँदा ३ वटा घर बस्नै नमिल्ने भएका छन्।
रातिको अविरल वर्षापछि जमिन गल्दा पहिरो आएको र स्थानीय वीरबहादुर रानाको २ वटा घर, गौबहादुर रानाको एउटा घरसहित गोठ पुरिएको स्थानीय सुजन देवकोटाले जानकारी दिए।
मानवीय क्षति नभए पनि बस्ती नै जोखिममा परेको र स्थानीय विस्थापित हुनुपरेको उनले बताए। गाउँपालिका अध्यक्ष देवीजंग गुरुङका अनुसार प्रकोपबाट सुरक्षित रहन पालिकाले नागरिकसँग आग्रह गरेको छ।
गाउँपालिकाले जोखिमपूर्ण क्षेत्रमा नबस्न पनि स्थानीयलाई सचेत गराएको छ। उद्दार र राहतका कार्यक्रम पनि सँगै अगाडी बढाउने गरि पालिका तयार रहेको उनले बताए।