काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्ने भन्ने बारे निर्णय गर्न बैठक बोलाइएको हो ।
आन्दोलनरत शिक्षकहरुले परीक्षामा सहभागी नहुने निर्णय गरेपछि ११ गतेबाट शुरु हुने बोर्डको परीक्षा अन्यौलमा परेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन् ।
शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन् । सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।
यसैबीच सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि तत्कालै निकास आउने सम्भावना समेत टरेको छ ।