प्रतिनिधि सभा निर्वाचन : सबै दलको समानुपातिक बन्दसूचीमा त्रुटि

  • प्रकाशित मिति : January 6, 2026
  • sthaniyasarkar.com

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूची पेस गरेका ६४ वटै दलको सूची नमिलेको पाइएको छ ।

निर्वाचन आयोगअन्तर्गत समानुपातिक निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुस १३ र १४ गते तोकिएको समयसीमाभित्र ५४ वटा दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी बन्दसूची पेस गरेका थिए।



नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा लगायत शीर्ष दलसहित ६४ वटै दलको बन्दसूचीमा कुनै न कुनै त्रुटि देखिएको जाँचबुझमा संलग्न अधिकारीले जनाएका छन् । जाँचबुझपछि सबै दललाई बन्दसूची सच्याउन तथा संशोधन गरी पुनः पेस गर्न आइतबार साँझसम्म पत्राचार गरिसकिएको छ ।

निर्वाचन आयोगका अनुसार ६४ दलले समानुपातिकतर्फ ३ हजार ४२४ जनाको नाम बन्दसूचीमा पेस गरेका छन् । बन्दसूची पेस गर्ने ६ वटा दलले न्यूनतम ११ जना पेस गर्नुपर्ने व्यवस्था अनुसार ११ जनाको नाम मात्रै समावेश गरेका छन्।

५४ वटा दलले आफ्नै निर्वाचन चिह्नमा समानुपातिक निर्वाचनमा भाग लिन बन्दसूची पेस गरेका छन्। १० वटा दलले भने ४ वटा निर्वाचन चिह्नमा भाग लिन बन्दसूची पेस गरेका छन् ।