काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौंडामा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घताने रहेका छन्।
बागमती प्रदेश सभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।
त्यस्तै, हेटौंडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षीय सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा स्थानीय ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई पक्राउ गरिएको छ। दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।