हुम्ला, कात्तिक २३ — सिमकोट गाउँपालिका–३ र ४ का कृषकहरूले रैथाने बाली उत्पादनपछि बजार नपाउँदा समस्या झेलिरहेका छन् । कात्तिक २२ गते आयोजित कृषि मेलामा कृषकहरूले बजारीकरणको अभावमा आफ्नो उत्पादन बिक्री हुन नसकेको गुनासो पोखेका थिए ।
सेल्मुकाङ कृषक समूहले युएनडिपी र बुद्धि ट्री फाउन्डेसनको सहयोगमा आयोजना गरेको मेलामा खामु, चुली, ढँटेलो, तोरी, सिमी, फापरको पिठो, स्याउ, मह लगायत स्थानीय उत्पादनहरू प्रदर्शित गरिए ।
स्थानीय कृषकहरूले रैथाने बालीको संरक्षण, जैविक विषादीको प्रयोग र प्रचार–प्रसार आवश्यक रहेको बताए । कार्यक्रममा बुद्धि ट्री फाउन्डेसनकी जिल्ला परियोजना प्रमुख छेतेन डोल्मा लामाले महिलालाई कृषि मार्फत आर्थिक रूपमा सबल बनाउने लक्ष्य रहेको बताइन् ।
सहभागी प्रशिक्षक घनश्याम नगरकोटीले रैथाने बालीलाई गुणस्तरीय बनाई बाहिरी बजारसम्म पुर्याउन सरकारी सहयोग अपरिहार्य रहेको बताए । सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले कृषकसँग सहकार्य गर्दै बजार व्यवस्थापनमा काम भइरहेको जानकारी दिइन् ।
कार्यक्रममा उत्कृष्ट कृषक समूहहरूलाई पुरस्कृत पनि गरिएको थियो ।