रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारदेखि वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।पछिल्लो समय सरकारी सेवासहित विभिन्न प्रशासनिक सेवामा अनिवार्य बनाउँदै लगिएको राष्ट्रिय परिचय पत्रको अफलाइन फोटो खिच्न र बनेका डिजिटल कार्ड वडा तहमै पुगेर वितरण थालिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
रामेछापको सुनापति गाउँपालिका–५ बाट सुरु भएको अभियान जिल्लाभर सञ्चालन हुनेछ । पालिकामा दुई हजार २०० कार्ड वितरण गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ ।
बुधबार जिल्लाको सबै भन्दा कम वडा रहेको सुनापति गाउँपालिका–५, भीरकोटको वडा कार्यालयमा प्रजिअ थापासहित गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, ५ नम्बरका वडा अध्यक्ष चित्रबहादुर मानन्धर लगायतको उपस्थितिमा कार्ड वितरण गरिएको थियो ।
सुनापति गाउँपालिकामा १० दिनमा अभियान सकेपछि रामेछाप नगरपालिकामा अभियान सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालयमा १७ हजार डिजिटल कार्ड (राष्ट्रिय परिचय पत्र’ बनेर आएको र ती कार्ड यो अभियानको क्रममा वितरण गरिने प्रशासनले जनाएको छ ।
वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण
- प्रकाशित मिति : July 24, 2025
- sthaniyasarkar.com