थासाङ गाउँपालिकाको आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन बन्ने

  • प्रकाशित मिति : July 17, 2025
  • sthaniyasarkar.com

थासाङ गाउँपालिका। तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा  ३० कोठको तीन तले नयाँ सुविधासम्पन्न प्रशासकीय भवन बन्ने भएको छ ।लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले आगामी २०८३ साल फागुन मसान्तसम्म सम्पन्न गर्ने गरी भवन शिलन्यास गरेको छ ।

बुधबार एक समारोहका बिच कोवाङमा अध्यक्ष प्रदिप गौचन तथा उपाध्यक्ष सोमल हिराचनले संयुक्त रुपमा गाउँपालिकाको प्रशासकीय कामसँगै समुदाय अनुकूल हुने विभिन्न कार्यहरुलाई सहज हुने गरी सभाहल सहितको भवन बनाउने गरी शिलन्यास भएको छ ।



भवनको शर्मा अनिष एण्ड आशिष जेभीले निर्माणको लागि ८ करोड ४९ लाख २ हजार ६१ रुपियाँमा सम्झौता गाउँपालिकाका इन्जिनियर त्रिलोचन गिरीले बताए । नेपाल सरकार सहरी विभागमा स्थानीय पूर्वाधार आयोजनाको ६० प्रतिशत र गाउँपालिकाबाट ४० प्रतिशत लगानीमा सम्पन्न हुने छ ।

प्रशासकीय भवन बनाउन स्थानीय विष्णु शेरचनले डेढ रोपानी, प्रदिप गौचन र प्रविण गौचनले तीन रोपनी, दुरेन्द्र शेरचन एक रोपनी र रत्न शेरचन आधा रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए ।