काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ संवैधानिकरुपमै तोकिएको मितिमा बजेट ल्याउन असफल भएका छन् । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले हरेक नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट असार १० भित्र पेस गरिसक्नुपर्ने व्यवस्था भए पनि स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित यी दुई प्रमुखले तोकिएको मितिमा बजेट ल्याउन सकेनन् ।धरानले अघिल्लोपटक पनि म्याद गुजारेर साउन पहिलो हप्तामा बजेट ल्याएको थियो । काठमाडौंमा भने निर्धातिर मितिमा बजेट नआएको यो पहिलो घटना हो ।
बजेट ल्याउन नसक्ने २२ नगरपालिका
यद्यपि, यी दुई नगरपालिकामात्र यो सूचीमा छैनन् । यसरी बजेट ल्याउन नसक्ने नगरपालिकाको संख्या २२ रहेको नेपाल नगरपालिका संघले जानकारी दिएको छ । असार १० साँझसम्म २६९ नगरपालिकालेमात्र बजेट ल्याएका संघले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण काठमाडौं महानगर प्रमुख बालेनले बजेट सार्वजनिक गर्न नसकेका हुन् ।
धरानमा प्रमुख साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको विवादले बजेट आएन । धरान बजेट ल्याउन नसक्नेमा कोशी प्रदेशको एक्लो नगरपालिका बनेको छ । उक्त प्रदेशका सबै नगरपालिकाले बजेट सार्वजनिक गरेका छन् ।यता मधेस प्रदेशमा १६ वटा नगरपालिकाले बजेट ल्याउन सकेनन् । बागमतीमा काठमाडौंसहित चार नगरपालिकाले बजेट पेस गर्न सकेनन् । नुवाकोटको विदुर, काभ्रेको पनौती र चितवनको राप्ती नगरपालिकाले बजेट पेस गर्न नसकेको हो । गण्डकी र सुदूरपश्चिमका सबै नगरपालिकाले बजेट पेस गर्दा लुम्बिनीका २ र कर्णालीको एक नगरपालिकाले बजेट पेस गर्न नसकेको नगरपालिका संघले बताएको छ ।
बजेट नल्याउने १५ गाउँपालिका
देशभरका १५ वटा गाउँपालिकाले निर्धारित मितिभित्र बजेट ल्याउन सकेनन् । बजेट ल्याउन नसक्ने गाउँपालिकामा सबैभन्दा बढी मधेस प्रदेशका नौ र सबैभन्दा कम बागमती प्रदेशको एक रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका दुई–दुई वटा गाउँपालिका बजेट ल्याउन सकेनन् । कोशी र सुदूरपश्चिमका सबै गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।
पर्वतको बिहादी गाउँपालिकामा भूमि बैंकको विवादले बजेट रोकिएको बताइएको छ । यता मोरङको ग्रामथान गाउँपालिकामा एमाले र माओवादीबीचको विवाद, कास्कीको मादीमा कांग्रेस र एमालेकै विवादका कारण बजेट नआएको बताइएको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका, विजयनगर र मायादेवी गाउँपालिकाले तयारी नपुगेको जनाएका छन् ।