मिक्लाजुङ गाउँपालिकाले ल्यायो ७९ करोड ९२ लाख बजेट

  • प्रकाशित मिति : June 24, 2025
  • sthaniyasarkar.com

मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाले गाउँसभाको १६ औं अधिवेशनमा आर्थिक वर्ष २०८२/०८३ का लागि ७९ करोड ९२ लाख ८७० रुपियाँको बजेट प्रस्तुत गरेको छ ।गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए।

उपाध्यक्ष पौडेलले आम्दानी तर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपियाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छन् ।
यस्तै नदीजन्य दहत्तर बहत्तरबाट १३ करोड १२ लाख एक हजार ५०६ रुपियाँ मालपोत रजिष्ट्रेसनबाट एक करोड नौ लाख ८१ हजार ६३ रुपियाँ र विज्ञापन करबाट ३ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारबाट राजस्व बाडँफाँट ७४ लाख २९ हजार, सङ्घीय सरकार राजस्व बाँडफाँटबाट मूल्य अभिवृद्धि आठ करोड तीन लाख ८४ हजार ६०३ रुपियाँ, अन्तशुल्क दुई करोड ६७ लाख ९४ हजार ८६८ रुपियाँ र वन रोयल्टिबाट १० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी, सङ्घीय समानीकरण अनुदान ११ करोड २५ लाख र प्रदेश समानीकरण अनुदान एक करोड ३० लाख पाँच हजार रुपियाँ प्राप्त हुनेछ । त्यस्तै, सङ्घीय सरकारको सशर्त अनुदान चालु तर्फ २३ करोड ९० लाख र पुँजीगत अनुदान दुई करोड २० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले सङ्घीय विषेश अनुदान एक करोड ५९ लाख प्राप्त गर्नेछ ।

यसैगरी, प्रदेश सरकारले दुई करोड ५८ लाख ५ हजार चालु खर्चका लागि ससर्त अनुदान दिने छ भने पुँजीगत ससर्त अनुदान ५९ लाख दिनेछ । प्रदेश सरकारले समुपुरक अनुदान एक करोड रुपियाँ दिने अनुमान गरिएको छ । जिल्ला समन्वय समितिबाट ३० लाख रुपियाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, खर्च तर्फ चालु पँजीगत खर्च ११ करोड ९१ लाख ५० हजार रुपियाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासमा आठ करोड १२ लाख रुपियाँ विनियोजन गरेको मिक्लाजुङ गाउँपालिकाले ९ वटा वडाका लागि पाँच करोड ३९ लाख रुपियाँ छुट्याएको छ ।