खोलामा बहाव बढेपछि नारायणघट–बुटवल सडक अवरुद्ध

  • प्रकाशित मिति : June 23, 2025
  • sthaniyasarkar.com

पोखरा। नवलपुरको खरंगे खोलामा पानी वहाब बढेपछि पूर्व पश्चिम राजमार्गको नारायणघट–बुटवल सडक अवरुद्ध भएको छ ।विनयी – त्रिवेणी गाउँपालिका–३ मा पर्ने खरंगे खोलामा बर्षातपछि पानीको बहाव बढ्दा सवारी आउजाउ ठप्प भएको हो ।
सोमबार विहानदेखि सवारी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बताए ।
उनका अनुसार यो वैकल्पिक मार्ग हो । विनयी त्रिवेणी गाउँपालिका– १ मा पर्ने विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडकलाई साना सवारी ओहोरदोहोर गर्ने वैकल्पिक मार्ग बनाइएको डिएसपी नेपालको भनाइ छ ।
भेलबाढीपछि साना सवारी पनि ठप्प भएको उनले बताए । ‘खहरे खोला हो पाल्पातिर बर्षात भएपछि यता बढेर आउँछ । पानीको बहाव कतिबेला घट्छ भन्नै सकिदैन’, उनले भने ।
विनयी खोलाको डाइभर्सन बगाएपछि ठूला मालवहाक सवारी भने नारायणघट–बुटवल खण्डमा ठप्प भएको उनले जानकारी दिए । विनयी खोलासँगै दाउन्नेमा पनि सवारी पास हुन निकै समस्या छ ।