काठमाडौं। नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता कांग्रेसले सहन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
वीपी कोईराला सोसलिस्ट इन्टरनेशनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘वीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले सरकारले शिक्षकहरूमाथि गरेको बर्बरता निन्दनीय मात्रै नभएर घृणित भएको टिप्पणी गरे।
‘शिक्षकहरूमाथि जुन बर्बरता हिजो सरकारले गर्यो, त्यो निन्दनीय मात्रै छैन, घृणित पनि छ,’ कोइरालाले भने, ‘यो नेपाली कांग्रेस जस्तो पार्टीले सहन सक्दैन।’
उनले सरकार बाहिर रहेकाहरूले कमी,कमजोरीहरूलाई औँला उठाएर भन्ने आँट गर्नुपर्ने जिकिर गरे।
‘सरकारमा बस्ने हाम्रा साथीहरू जो हुनुहुन्छ, उहाँहरूले सहकार्य गरेर जानुहोस्,’ कोइरालाले भने, ‘एमालेसँग त्यसमा मलाई केही भन्नु छैन। तपाईं हामीहरू जो बाहिर छौँ, हामीले यो सरकारले गरेका गलत र कमीकमजोरीहरूलाई औँला उठाएर भन्ने आँट तपाईँहरूले गर्नुपर्छ।’