एक वर्षमा कर्णालीका १३ लाख नागरिकको स्वास्थ्य उपचार

  • प्रकाशित मिति : April 28, 2025
  • sthaniyasarkar.com

काठमाडौं।कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा प्रदेशका १३ लाख नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । २०८१ वैशाखदेखि चैत मसान्तसम्म कर्णालीका १० जिल्लाका १३ लाख ३५ हजार नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको दावी गरेको छ । प्रदेश सरकार स्थापना भएदेखि कर्णालीको स्वास्थ्य, शिक्षा तथा मानव विकास हेर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई छ ।

मन्त्रालयले यस अवधिमा स्वास्थ्य सेवा कार्यालय डोल्पा अस्पतालको भवन निर्माण सम्पन्न गराई नयाँ भवनबाट सेवा प्रारम्भ गराएको छ । यस्तै, डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिका तथा जुम्ला जिल्लाको हिमा गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी विशेषज्ञ स्वास्थ सेवा प्रवाह तथा औषधि वितरणसमेत गरिएको छ ।

स्थानीय तहमा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रदेश/जिल्ला अस्पतालमा कामकाजको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा मेडिकल अधिकृतहरूलाई कामकाजमा खटाउने संयत्रको विकास गरिएको मन्त्रालयको दावी छ ।

गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेशिनरी तथा औजार खरिदका लागि एक करोड बजेट खर्च गर्ने गरी अख्तियारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्न बनेको उच्चस्तरीय अध्ययन समितिले प्रतिवेदन पेस गरेको छ ।

डा. भगवान कोइरालाको संयोजकत्वमा गठित कार्यदलबाट प्रदेश सरकारलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्न विभिन्न पाँच विकल्पसहित सुझाव प्राप्त भएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताए । प्रदेशका १० देखि १४ वर्ष उमेर समूहका ९९ हजार पाँच सय नौ किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप प्रदान गरिएको मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यप्रगतिमा उल्लेख छ ।