पाकिस्तान।पाकिस्तानले पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले रुसी मिडिया रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा भनेका छन्- एक अन्तर्राष्ट्रिय टोलीले भारतका प्रधानमन्त्री मोदी सत्य बोलिरहेका छन् कि झुट भन्ने कुराको अनुसन्धान गर्नुपर्छ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले आइतबार पहलगाम आतंकवादी हमलाविरुद्ध जम्मुमा मुद्दा दर्ता गरेको छ। यसमा खोजीका क्रममा भेटिएका प्रमाण र प्रत्यक्षदर्शीको बयानलाई आधार बनाइएको छ।
घटना अनुसन्धानका क्रममा जम्मु-कश्मीर सुरक्षा बलले ३ दिनमा कश्मीर उपत्यकामा १० आतंककारीको घर ध्वस्त पारेको छ। पछिल्ला दुई दिनमा २७२ पाकिस्तानी नागरिकले भारत छोडेका छन्।
यस्तै १३ जना कूटनीतिज्ञ अधिकारीसहित ६२९ जना भारतीय पाकिस्तानबाट फर्किएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
अप्रिल २२ मा आतंककारीहरूले पहलगामको बैसरन उपत्यकामा अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए। त्यसयता त्यहाँ सुरक्षा बलले खोजी अभियान जारी राखेको छ।