वर्षाले कोलकाता र पन्जाबको खेल रद्द

  • प्रकाशित मिति : April 27, 2025
  • sthaniyasarkar.com

कोलकाता। कोलकाता नाइट राइडर्स र पन्जाब किंग्सबीच इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । टस जितेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय १ रन बनाएको थियो ।

प्रियांश आर्य र प्रभसिमरन सिंहले पहिलो विकेटमा १२ ओभरभित्र १ सय २० रन जोडेपछि पन्जाबले राम्रो स्कोर बनाएको थियो । आर्यले ३५ बल खेल्दै ८ चौका र ४ छक्कासहित ६९ र सिंहले ४९ बलमा समान ६ चौका र छक्कासहित ८३ रन बनाए । ग्लेन म्याक्सवेल ७ र मार्को यान्सेन ३ रनमा आउट भए । कप्तान श्रेयस ऐर १६ बलमा २५ र जोस इङ्लिस ६ बलमा ११ रन बनाई अविजित रहे ।

जबाफमा कोलकाताले १ ओभर खेल्दै विनाक्षति ७ रन बनाएको समयमा इडेन गार्डेनलाई मेघगर्जनसहितको वर्षाले भिजाएपछि थप खेल हुन सकेन । खेल रोकिँदा सुनिल नारिन ४ र रहमनुल्लाह गुरबाज १ रनमा थिए । यस नतिजापछि मुम्बई इन्डियन्सलाई उछिन्दै पन्जाब चौथो स्थानमा उक्लेको छ ।

शीर्ष तीन स्थानमा रहेका गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरुको समान १२ अंक छ । पन्जाबको ११ अंक पुगेको छ । मुम्बई र लखनउ सुपर जायन्ट्स समान १० अंकसहित क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । ९ खेल खेलेको कोलकाता ७ अंकसहित सातौं स्थानमा छ । टोलीको शीर्ष चारभित्र रहेर प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।