काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो घरेलु मैदानमा सिजनको पहिलो जित निकालेको छ। आरसीबीसँग हारेको राजस्थानको भने यो लगातार छैटौं हार हो। जितसँगै उसले ९ खेलबाट १२ अङ्क बनाउँदै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ।
बिहीबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्स माथि ११ रनको रोमाञ्चक जित निकाल्यो। बैंगलोरलाई महत्वपूर्ण जित दिलाउन जोस ह्याजलवुडको १९ औं ओभर निर्णायक रह्यो। उनले उक्त ओभरमा केवल १ रन मात्र दिएर २ विकेट लिंदै खेल आरसीबीको पक्षमा पारेका थिए। उनले आफ्नो ४ ओभरको स्पेलमा ३३ रन दिएर ४ विकेट हात पारे।
जवाफमा राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रनमा समेटियो। उसका लागि यशस्वी जैसवालले ४९ रन बनाउँदा नितिश रानाले २८ रन तथा ध्रुव जुरेलले ४७ रन बनाएका थिए। प्रतियोगितामा आज चेन्नइ र हैदराबाद भिड्दै छन्।