एजेन्सी । भारत भ्रमणमा रहेका अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । परिवारसहित सोमबार भारतको राजधानी दिल्ली आइपुगेका भान्सले मोदीसँग शिष्टाचार भेट गरेका हुन् । अमेरिकी प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता समेत भएको छ । बैठकमा द्विपक्षीय व्यापार सम्झौता, ऊर्जा, रक्षा र रणनीतिक प्रविधिजस्ता क्षेत्रमा सहयोग बढाउने बारे छलफल भएको मोदीले जनाएका छन ।
भारतीय सञ्चार माध्यमका अनुसार आज भान्सले राजस्थानका राज्यपाल हरिभाउ बागडे र सीएम भजन लालसँग भेट गर्नेछन् । यस क्रममा उनी जयपुरको आमेर किल्ला हेर्न जानेछन् । राजस्थान अन्तर्राष्ट्रिय केन्द्रमा व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भान्स बुधबार उत्तर प्रदेश जाने र आगरामा ताजमहल हेर्ने तालिका रहेको छ । १३ वर्षपछि अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा आएका हुन् । राष्ट्रपति ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर मानिएको छ ।