काठमाडौँ।परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढेको टिप्पणी गरेकी छन् । इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तर्क्रिया कार्यक्रममा उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।
उनले भनिन्, आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला । तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो । मन्त्री डा.राणाले नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव सुनाइन् ।
उनले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरूले गर्ने गरेको आफूले सुनेको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, -आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ । अरु पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।
मन्त्री डा। राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन् । उनले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गरिन् । वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको प्रसंग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले योभन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने बताइन् ।
आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढ्यो:डा.आरजु राणा
- प्रकाशित मिति : April 14, 2025
- sthaniyasarkar.com
