आज मौसम प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने

  • प्रकाशित मिति : February 5, 2022
  • sthaniyasarkar.com

काठमाडौ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज राति प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ। तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।