विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन । विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ।
प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।