प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने

  • प्रकाशित मिति : July 18, 2021
  • sthaniyasarkar.com

काठमाडौं :  पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक बोलाइए संगै प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने तयारी गरेकाछन् ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक ब्यवस्था रहेको छ ।

एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नया राजनैतिक तरंग उत्पन्न भएको छ।

कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ । सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये अझै देउवालाई ८ मत पुग्दैन ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए । प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए ।

संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५)को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको छ । अहिले ओली पक्ष विश्वासको मत नदिने पक्षमा उभिएको छ भने नेपाल पक्ष संसद बचाउनका लागि देउवालाई विश्वासको मत दिने पक्षमा रहेको बुझिएको छ ।