उपत्यकामा भोलि बाट सार्वजनिक यातायात चल्ने

  • प्रकाशित मिति : June 28, 2021
  • sthaniyasarkar.com

काठमाडौ : कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ ।

आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।  तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ ।

सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।