थप १८ कम्पनीको आईपीओ आउदै

  • प्रकाशित मिति : June 18, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ। प्राथमिक बजारमा अहिले १८ लाखभन्दा धेरै लगानीकर्ताले आवेदन दिन थालेका छन्। यस्तो अवस्थामा आईपीओ बिक्री गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन्।

पछिल्लो समय धेरै कम्पनीहरु आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन्। बोर्डको अनुसार अहिले १८ वटा कम्पनीले ५ अर्ब ७१ करोड ५० लाख ३३ हजार ४०० रुपैयाँ बराबरको कुल ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन्।

अहिले आईपीओको पाइपलाइनमा करिब ४ वर्ष अघि नै आवेदन दिएको मैलुङ खोला जलविद्युत समेत रहेको छ। उसले २०७४ असोज २० गते ७ लाख ३६ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएको थियो।

यसैगरी, हिमालयन हाइड्रोवपावरले पनि २०७६ कार्तिक २७ गते नै आईपीओ जारी गर्न आवेदन दिएको थियो भने विन्दबासिनी हाइड्रोपावरले समेत २०७६ माघ १ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियो।

आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा धेरै १ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेको छ।

अहिले आईपीओ जारी गर्न अनुमति माग्ने अधिकाँश कम्पनीहरु हाइड्रोपावर क्षेत्रका रहेका छन्। १८ वटा कम्पनीमा १३ वटा हाइड्रोपावर रहेका छन् भने दुई माइक्रोफाइनान्स, दुई इन्स्योरेन्स र एक अन्य क्षेत्रको कम्पनी रहेको छ। यी १८ वटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा नै आईपीओ जारी गर्न आवेदन दिएका छन्।