प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने

  • प्रकाशित मिति : June 15, 2021
  • sthaniyasarkar.com

मोरङ : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ सरकारले एक महिनाभित्र प्रदेशको नामकरण टुंगो लगाउने बताएका छन्।

मन्त्री कार्कीले आफ्नै निवासमा झापाको गौरादहमा झापाली सञ्चारकर्मीसँग कुरा गर्दै जति सक्दो छिटो नामकरण टुंगो लगाउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। प्रदेशको नाम विवादरहित ढंगले सबैलाई मान्य हुने खालको साझा नाम राखिने मन्त्री कार्कीको भनाइ छ।

अर्को प्रसंग बोल्दै मन्त्री कार्कीले भने, ‘कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा रोकथाममा संघीय सरकार र स्थानीय सरकारको बीचमा रहेर प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको छ।’

लामो समयदेखि विवादित बनेको प्रदेशको नामकरणको सन्दर्भमा सगरमाथा, कोशी वा कोशी–सगरमाथामध्ये एक हुने प्रदेश सरकार स्रोतले जनाएको छ।