असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय

  • प्रकाशित मिति : June 5, 2021
  • sthaniyasarkar.com

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पत्राचार गर्दै असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरेका छन् ।

वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २०० हाराहारीमा विद्यालय छन् । नगर प्रमुख विजयकुमार सरावगीले कोरोना संक्रमण घट्दै गएकोले विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए ।

विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्नेछ।