निषेधाज्ञा पनि निषेध भएका दुई जिल्ला

  • प्रकाशित मिति : June 3, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

खोटाङमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको आदेश जारी नगरे पनि स्थानीय तह, व्यापार संघ, यातायात व्यवसायी संघ लगायतले आफैं बजार, पसल र यातायात बन्द गर्ने गरेका छन् । उनीहरुले अत्यावश्यक बाहेक सम्पूर्ण सवारी साधन चलाउन बन्द गरेका छन् भने दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ देखि ९ बजेसम्म खोल्ने गरेको खोटाङ सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिएका छन ।

यस्तै हिमाली जिल्ला मनाङमा भने निषेधाज्ञा लगाउनुपर्ने आवश्यकता नै नदेखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जनसंख्या कम भएकाले मानिसहरुको सम्पर्क पनि पातलो हुने भएकाले संक्रमण दर तीव्र रुपमा नबढेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन् । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने कडाइ गरिरहेको उनको भनाइ छ ।