काङ्ग्रेसले थाल्यो ”स्वास्थ्य उपकरण सहजीकरण अभियान”

  • प्रकाशित मिति : June 1, 2021
  • sthaniyasarkar.com

काठमाडौँ : नेपाली कांग्रेसले मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरेको छ ।

अभियानले कोभिड–१९ उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक ब्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवा उपलब्ध गराउने छ । अभियानको उद्धेश्य देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरू अथवा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या जहाँ उत्पन्न भएका छन् तिनको निःशुल्क मर्मत र समाधान गर्ने र उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान उपलब्ध गराउने रहेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर आवश्यकता र परिस्थिति अनुरुप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म अभियान चल्ने बताएका छन् । यो अभियान कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेन को सहभागितामा देशै भरी सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।