प्रहरीमाथि ढुंगा हानेको आरोपमा तीन जना पक्राउ

  • प्रकाशित मिति : May 18, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पर्सामा प्रहरीमाथि ढुंगा हानेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र साह, ३५ वर्षीय राजेन्द्र यादव र ३५ वर्षीय राजन यादव छन्।

वीरगंज महानगरपालिका-२२ जगरनाथपुर चोकमा ड्युटीमा खटिएको प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा तीन जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उक्त चोकमा ४० वर्षीय मोहम्मद अकवर र मोहम्मद उसमानलाई मोटरसाइकलले ठक्कर दिएको थियो। सो विषयमा पर्मा यादव र उमर यादव भन्ने व्यक्तिले उनीहरू दुबैमाथि कुटपिट गरेको भन्ने प्रहरीले खबर पाएको थियो। खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पर्मा र उमरलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका दुवै जनालाई स्थानीयले नै भगाउन मद्दत गरेको खबरपछि प्रहरी चौकी परवानीपुर र प्रहरी चौकी गण्डक समेतबाट थप प्रहरीले खटिएर घटनाबारे जानकारी लिएका थिए। सोही क्रममा स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।