सुदूरपश्चिम प्रदेशमा एक सातामा ९८ जना कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : May 11, 2021
  • sthaniyasarkar.com

काठमाडौ : पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छन् । योसङै एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, दीपायल डोटीका अनुसार कैलालीका आठ, कञ्चनपुरका पाँच, बाजुराका तीन, डोटी र बैतडीका एक/एक जना गरि पछिल्लो २४ घण्टामा १७ जनाले ज्यान गुमाएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार गएको एक सातामा सुदूरपश्चिम प्रदेशमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९८ पुगेको छ । वैशाख २० गतेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय २७ रहेको थियो । सोमबार उक्त संख्या दुई सय २५ पुगेको छ । एण्टिजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएका ९६ र पीसीआर विधिबाट संक्रमित पुष्टि भएका एक सय २९ जनाले ज्यान गुमाएका छन् ।

कैलालीमा सवैभन्दा बढी एक सय दुई जना संक्रमितले ज्यान गुमाएका छन् । कञ्चनपुरमा ७०, बझाङमा ११, बैतडी र अछाममा १०/१०, दार्चुला र बाजुरामा ६, डडेल्धुरामा पाँच र डोटीमा चार जनाले हालसम्म कोरोनाको कारण ज्यान गुमाउनु परेको छ । अन्य जिल्लाका एक जना संक्रमितको पनि ज्यान गएको छ । आइतबार कैलालीका नौ, कञ्चनपुरका सात, बाजुरा र दार्चुलाका एक-एक गरी १८ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा मृत्यु हुने संख्या यो हालसम्मकै सबैभन्दा बढी हो ।