बिश्वासको मत नपाए मार्गप्रशस्त गर्नेछु: प्रधानमन्त्री

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नपाए नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिने बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले भने ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन, संसदले आदेश देओस्, छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ’ उनले भने, ‘यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दैगर्दा नेता माधव कुमार नेपालको सम्झना गरेका छन् । उनले रमाइलो शैलिमा भने ‘अस्ति एकजना मित्रसङ होटलमा भेटघाट थियो । उहाँ नआइपुगेकाले मैले झ्यालबाट धरहरा हेर्दै थिएँ । यहाँबाट राम्रै धरहरा देखिँदो रहेछ भनेँ, उहाँले पछि भाषणै गर्नुभयो मलाइ धरहरा देखायो भनेर । धरहरा देखाउन नहुने कुरा हो र ?’, उनले भने , ‘मैले त सबै राम्रो देखिँदो रहेछ भनेर कुरा गरेको थिएँ ।’

प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कतिपयले धरहरा नबन्दै उद्घाटन गरेको भन्ने टिप्पणी गरेको प्रति विमति जनाउँदै धरहरा बनिसकेको र नपत्याए हेर्न जान सांसदहरुलाई सुझाए ।