निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बना: सभापति देउवा

  • प्रकाशित मिति : May 10, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको दोश्रो लहरले भयावह अवस्था ल्याउनुमा सरकार स्वयं जिम्मेवार भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको प्रस्तावमाथि संसदमा भएको छलफलमा देउवाले सरकारले समयमै सम्यमता नअपनाउदा महामारीको भयावह अवस्था आएको बताए ।

प्रमुख प्रतिपक्षी रुपमा आफ्नो भनाइ राख्दै उनले भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो ।’

पहिलो लहरमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको र अहिले खोपमा भ्रष्टाचार भएको भन्दै उनले भने, ‘यो भन्दा निर्लज्जता के हुनसक्छ ? व्यापारिक घरानाहरुलाई पोस्न तपाईंले नेपाली जनताको जीवन दाउमा लगाउनुभएको इतिहासले बिर्सन्छ ?’ उनले कमिसनका कारण खोप आउन नसकेको पनि दाबी गरे । सरकार नै भ्रष्टाचारमा संलग्न भएको भन्दै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा भ्रष्टाचार गर्नु जनतताविरुद्धको अक्ष्यम्य अपराध भएको बताए ।

देउवाले अघि भने, ‘जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ ।’