फुटकालागि अन्तिम झिल्को कुर्दै नेकपा एमाले

  • प्रकाशित मिति : May 9, 2021
  • sthaniyasarkar.com

काठमाडौं :नेकपा एमाले फुटको नजिक पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित सांसदहरुले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्।

सत्तारुढ नेकपा एमालको विभाजन रोक्न नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ ।निरन्तर रुपमा नेताहरु बिचमा सम्वादहरु भएपनि अहिलेसम्म सम्वादले कुनै ठोस आकार लिएकोभने छैन।सहमतिको लागि राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,वरिष्ठ नेता माधवकुमार नेपाल,  माधव समूहका नेताद्धय घनश्याम भुसाल र योगेश भट्टराईको फरकफरक समयमा भेटबार्ता र छलफल भएको छ।

छलफलका क्रममा ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउँछु, बैठकमा आउनुस् भनेका थिए । तर उनीहरुले माओवादी केन्द्रसँग एकता गर्नुअघि अर्थात २ जेठ २०७५ मा फर्किनुपर्ने पुरानै अडान राखेपछि कुनै सहमति भने जुट्न सकेन।

शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।

‘पार्टी एकता जोगाउन अन्तिमसम्म हदैसम्म प्रयत्न गर्ने तर एकताका लागि ढोका बन्द गरेर भोटे ताल्चा लगाइए सामूहिक राजीनामा गर्नेगरी प्रत्यक्ष निर्वाचित २२ सांसदले जनाले शनिवार हस्ताक्षर गरेका छौं’ बैठकपछि सांसद झपट रावलले भने। एकताको ढोका बन्द गरिएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको हठ र दम्भका कारण कम्युनिष्ट पार्टी विसर्जन र विघटनमा गएको कुरासहित पत्रकार सम्मेलन गरेरै राजीनामालाई सार्बजनिक गर्नेसम्मका विषयमा छलफल भएको उनले जानकारी दिए।