अक्सिजन उद्योगमा प्रहरीको सुरक्षा

  • प्रकाशित मिति : May 5, 2021
  • sthaniyasarkar.com

काठमाडौं : कोरोना महामारीको दोस्रो लहरमा संक्रमणदर तीव्र भई अक्सिजनको अभाव हुन थालेपछि यसको उचित व्यवस्थापनमा सहज गर्न र दुरुपयोग रोक्न प्रहरीले अक्सिजन उद्योगमा निगरानी बढाउने भएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारिगर्दै अक्सिजनको दुरुपयोग रोक्न र सही ठाउँमा उपयोग हुने गरी सुरक्षाको प्रबन्ध मिलाउन भन्दै परिपत्र गरेपछि यसको आवश्यक निगरानीमा प्रहरीले लागेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले दुरुपयोग हुन नदिन सबै अक्सिजन उद्योगमा सुरक्षाको प्रबन्ध गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जानकारी दिए ।उनका अनुसार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको लिखित आग्रहपछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले प्रहरी परिचालन गर्न थालेको जनाइएको छ ।

नेपाल प्रहरीले पनि गृहको निर्देशन अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाउन र दुरुपयोग हुन नदिन सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका प्रहरीका प्रवक्तासमेत रहनु भएका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।