निषेधाज्ञा जारि गर्ने जिल्ला ३० पुग्यो

  • प्रकाशित मिति : May 2, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नया लक्षण सहितको कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरुसँगै कोरोना महामारीले विकराल रुप लिँदै जाँदा देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाउनेक्रम जारि छ । गृह मन्त्रालयले शनिबार साँझसम्ममा २९ जिल्लाले निषेध आदेश जारी गरेको जनाएको छ।

गृह मन्त्रालयका अनुसार २३ वटा जिल्लामा  पूर्ण र ७ जिल्लामा  आंशिक निषेधाज्ञा जारी भएको छ।  निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबारदेखि लागू हुनेछ।  मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमितहरु बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ।

जिल्लाभर नै लागू हुने गरी निषेधाज्ञा जारी गर्ने जिल्लहरुमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्युठान र उदयपुर जिल्ला रहेका छन।

निषेधाज्ञा जारी गरिएको कास्की र सुनसरी जिल्लामा भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ।  सल्यान, डडेल्धुरा, रुकुम पश्चिम, बाजुरा, उदयपुर, काभ्रे, सल्यान र झापामा भने आइतबारदेखि(आजबाट) मात्रै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ।