सांसद लुकाउन केन्द्र सरकार(एमालेको) हात : काङ्ग्रेस नेता पौडेल

  • प्रकाशित मिति : April 29, 2021
  • sthaniyasarkar.com

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभाका सांसद लुकाउन केन्द्र सरकार(एमालेको) शक्ति प्रयोग भएको आरोप लगाएका छन्।

बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पिसिआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारवाही हुनुपर्ने भन्दै घटनाको छानविन गर्न माग गरे।

नेता पौडेलले एमालेले जनमोर्चाका सांसद खिम विक्रम शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु सिद्धान्त र निष्‍ठामा रहेको जनमोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए। शाही प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने पनि नेता पौडेलले बताए। ‘किर्ते नक्कली बहाना बनाएर,अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षडयन्त्र छ ।’ पौडेलले भने, ‘मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो । यस्ता खेल, किर्ते जालसाजी खेल,अलोकतान्त्रिक षडयन्त्रको छानविन हुनुपर्छ ।