सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने

  • प्रकाशित मिति : April 27, 2021
  • sthaniyasarkar.com

काठमाडौं:सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिडसंक्रमणको स्थिति गम्भिर देखिएकोले कम्तिमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको समय दिइने बताए।

सोमबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा दुई दिनको समय दिएर एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो।

कुनै एक क्षेत्रलाई मात्रै बन्द गर्दापनि सं-क्रमणको अवस्थालाई ब्रेक गर्न नसकिने भएकाले सम्पूर्ण क्षेत्रलाई पूर्ण रुपमा बन्द गराउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको पनि बताए।

लकडाउन गर्नु भन्दा अगाडि सतर्क रहन सर्वसाधारणलाई अपिल गरिएको भएपनि मापदण्ड पूर्ण रुपमा पालना नहुँदा सं-क्रमणको स्थिति गम्भिर बनेको ठहर प्रशासनको छ।

वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड -१९ सं-कट व्यवस्थापन केन्द्रको सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए ।

निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टले पनि टेक अवे सेवा मात्र दिन पाउनेछन् ।