फर्निचरमा आगलागी हुदाँ रु ५० लाख बराबरकाे क्षति

  • प्रकाशित मिति : April 13, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः खाेटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा संचालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

स्थानीय हर्कराज राईले संचालन गरेकाे उक्त फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए । बिहान करीब ४ः३० बजेको समयमा शुरु भएको आगोले उद्योगमा रहेको मेसेनरी औजार, तयारी फर्निचर, काठपातलगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगमा आगलागी भएको खबर पाउनसाथ नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करीब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए । जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमा नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन पाएन ।

उद्योगमा भएको आगो नियन्त्रणमा लिइए पनि कुनै सामग्री सुरक्षित गर्न नसकिएको प्रहरीले जनाएको छ । उद्योग संचालक राईका अनुसार भण्डारण गृह र बिक्री कक्षमा राखिएका बाहेक सबै उत्पादित सामग्रीसमेत जलेर नष्ट भएको छ । घर तथा गोठमा भएको आगलागीमा नगद, सुनचाँदी, पशुचौपाया, अन्नपात, लत्ताकपडा, काठपातलगायत जल्दा करोडौँको क्षति भएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

जिल्लामा भएका आगलागीका घटनाको यकिन विवरण अझै आउन बाँकी रहेको जनाइएको छ । जिल्लाका कतिपय सामुदायिक वनमा अझै आगलागी भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।