काठमाडौं। नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन सक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा कँडेलले यही अवस्था रहेमा ओली एमालेबाट अन्तिम प्रधानमन्त्री हुने बताएका हुन्।
२०७४ को प्रतिनिधिसभाको निर्वाचनका समयमा केपी ओलीले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका थिए। त्यसैको जवाफमा कँडेलले ओली एमालेको अन्तिम प्रधानमन्त्री भएको बताएका हुन्।
उनले भने, ‘२०७४ को चुनावमा ओलीले शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको सुनियो। त्यही कारण आफूसँगै संघर्ष गरेका साथीहरुलाई पन्छाउँदै हुनुहुन्छ। गोरखामा व्यक्त गरेको कुरालाई आधार मान्ने हो भने, एमालेको प्रधानमन्त्री ओली नै अन्तिम नै हो।’
उनले सरकारमा रहेको दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मत लिुनपर्ने संवैधानिक व्यवस्था रहेको हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बताए। समर्थन फिर्ता लेउ भनेर मात्रै नहुने भन्दै उनले संसदमा प्रधानमन्त्रीले विश्वासको मत दिनुपर्ने बताएका हुन्।