प्रतिनिधिसभाको बैठक आज बस्दै निजामति सेवा विधेयक पेश हुने

  • प्रकाशित मिति : April 5, 2021
  • sthaniyasarkar.com

काठमाडौं : आजको प्रतिनिधिसभाको बैठकमा निजामति सेवा विधेयक पेश हुने भएको छ। लामो समयदेखि विवादास्पद निजामती सेवा विधेयक संसदमा पेश हुन लागेका हो।

आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेस हुने भएको छ। ९ महिनाअघि १५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट यो विधेयक बहुमतका आधारमा पारित भएको थियो।

समितिबाट पारित भएको ९ महिनापछि सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गर्ने संसद् सचिवालयले जनाएको छ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समितिको प्रतिवेदन पेस हुने उल्लेख छ । यो कार्यसूची हेरफेर नहुने सभामुखको सचिलायले जनाएको छ।

यस्तै, बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने बताइएको छ ।
सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने पनि  बताइएको छ।