भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले पुराना बस्तीमा ढुंगा बिछ्याउन सुरु गरेको छ ।
नगरपालिकाको वडा नम्बर १ स्थित सिरुटारको धन्सार टोलमा ढुंगा बिछ्याउन थालिएको हो । नेवार जातीको बसोबास रहेको उक्त टोलमा सम्पदा संरक्षण र प्रवद्र्धन गर्न ढुंगा बिछ्याउन लागेको वडाध्यक्ष सानुकाजी कायस्थ बताए ।
उनका अनुसार करिब २ सय मिटरको बाटोमा ढुंगा बिछ्याइने । सडकका दुवैतिर पर्खाल लगाइएको छ । सडकमा रहेका धारा तथा ढलको पाइप व्यवस्थापन गर्न स्थानीयले समेत सहयोग गर्दै आएका छन् । सडकलाइ टिकाउनका लागि गुणस्तरीय ढुंगाको प्रयोग गरिनेछ ।
‘आगामी आर्थिक वर्षमा काम सम्पन्न गर्ने योजना बनाएका छौँ । २ सय मिटर सडकबाट ५० घरधुरी प्रभावित हुनेछन्’, वडाध्यक्ष कायस्थले भने ।
नगरपालिका उपप्रमुख जुना बस्नेतले पुराना बस्तीमा सम्पदा संरक्षण भएसँगै पर्यटकलाई थप आकर्षित गर्न सकिने विश्वास व्यक्त गरिन् । इँटा बिछ्याइएको सडक जीर्ण हुँदै गएको थियो । ढुंगा बिछ्याउन थालेपछि स्थानीयहरू समेत खुसी छन् ।