काठमाडौं : कोभिडको नयाँ प्रजाति देखिन थालेपछि विश्व स्वास्थ्य संगठन सहयोगमा जिन सिक्वेन्सिङ मेसिन केन्द्रीय प्रयोगशाला टेकुमा ल्याइएको छ।नेपालमा जिन सिक्वेन्सिङ परीक्षण नहुने भएकाले अहिले पनि भाइरस प्रजाति पत्ता लगाउन शंकास्पद नमुना हङकङ पठाउने गरिएको छ।
यसअघि बेलायतबाट आएका नेपालीमा पिसिआर पोजेटिभ देखिएपछि भाइरस प्रजाति पत्ता लगाउन हङकङमा रहेको विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएको थियो।
भाइरस कुन प्रजातिको हो, नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ/मिल्दैन, भाइरसमा के–के फरक छ, लक्षण मिल्छ/मिल्दैन भन्ने पत्ता लगाउन संक्रमितको जिन सिक्वेन्सिङ गर्ने गरिन्छ।
हाल जिन सिक्वेन्सिङ मेसिन प्रयोगशालामा आइपुगिसको प्रयोगशालामा सुचना अधिकारी राजेश कुमार गुप्ताले बताए। हाल सो मेसिन सञ्चालनका लागि चाहिने किट नभएको र सो आउनेबित्तिकै जिन सिक्वेन्सिङसम्बन्धी परीक्षण गर्न सकिने उनले बताए।
गुप्ताले भने, ‘जनशक्ति र अन्य केही तयारी पूरा भएपछि एक हप्ताभित्र मेसिन सञ्चालनमा ल्याउने तयारी गरेका छौँ।‘
यता भर्खरै भारतबाट आएकाहरुमा पिसिआर पोजेटिभ देखिएकाहरुको समेत जिन सिक्वेन्सिङ गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताए। केहीकी स्याम्पलको यहीनै जिन सिक्वेन्सिङ गरिने समेत उनले बताए।डा कृष्ण प्रसाद पौडेलले झण्डै १५ वटा नमुना संकलन गरी सिक्वेन्सिङको काम गर्न लागिएको बताए।
नेपालमा जिन सिक्वेन्सिङ गर्ने मेसिन पाँच वटा रहेको बताइन्छ। त्रिभुवन विश्वविद्यालय र धुलिखेल अस्पतालले हालै किनेका छन् । विधि विज्ञान प्रयोगशाला र वीर अस्पतालमा पुरानै मेसिन सञ्चालनमा छन्।